गण्डकीमा डायलासिस सेवा लिन पालो कुर्नु नपर्ने

१३ वैशाख, पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवा लिन अब पालो कुरिरहनु नपर्ने भएको छ ।

प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सचिव डा विनोदविन्दु शर्माले प्रदेशमा डायलाइसिस सेवा लिन पर्खिरहेका सेवाग्राहीको संख्या शून्यमा झरेको जानकारी दिए ।

‘गण्डकी प्रदेशमा सेवा नपाएर प्रतिक्षारत अवस्थामा कोही पनि हुनुहुन्न, डायलाइसिस गर्ने बिरामी जानुभयो भने सेवा पाइन्छ’, डा शर्माले भने ।

माघ ०७९ मा प्रदेशले गरेको अध्ययन अनुसार गण्डकीमा सरकारी १० र निजी ६ वटा गरी जम्मा १६ वटा संस्थाबाट डायलाइसिस सेवा दिने गरिएको थियो । त्यतिबेला ५ सय ७६ जना बिरामीहरुले डायलाइसिस सेवा लिइरहँदा ३ सय ३ जना डायलाइसिस सेवाको पर्खाइमा थिए ।

खगराज अधिकारी पहिलो पटक मुख्यमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै प्रदेशमा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेका थिए । सोही निर्णयअनुसार २५ शय्या क्षमताको डायलाइसिस केन्द्र स्थापना गरिएको थियो ।

मन्त्रालयका सचिव डा शर्माले अन्य अस्पतालमा पनि डायलासिस क्षमता बढाएर सेवा विस्तार गरिएको जानकारी दिए । उनका अनुसार अहिले प्रदेशमा १ सय ३६ वटा डायलासिस मेसिन सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।

Online Khabar

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button