अलमलमा भीम रावल : नयाँ पार्टी कि एकीकृत समाजवादी

२२ वैशाख, काठमाडौं । गोदावरीमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा सहभागी हुन नदिएको निष्कर्षसहित नेकपा एमालेका नेता भीम रावलले नयाँ मुभको थालनी गरेका छन् । गत १३ वैशाखमा पत्रकार सम्मेलन गरी रावलले आफू एउटा राजनीतिक घुम्तीमा पुगेको बताएका थिए ।

‘..राजनीतिको एउटा मोडमा धकेलिएको जस्तो मलाई महशुस भएको छ’, रावलले भनेका थिए, ‘अब त्यो घुम्तीमा पुग्दाखेरि सबैलाई थाहा छ, हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जाँदा घुम्तीमा पुग्यौं भने त्यो घुम्तीबाट अर्को मोड लाग्छ ।’

पार्टी नेतृत्वबाटै आफूलाई अर्को घुम्तीमा धकेल्न खोजेको महशुस गरेको उनको भनाइ थियो । यद्यपि उनले एमाले छोड्ने आशंकाको खण्डन गरेका छन् ।

आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाउने कि एकीकृत समाजवादीमा जाने भन्ने अलमलमा रहेकाले उनी औपचारिक रुपमा एमाले छाड्ने निर्णयमा पुगिसकेका छैनन् ।

उनको गतिविधि भने एमाले छोड्नेतर्फ नै उन्मुख छ । ‘धेरै प्रयत्न गर्दा पनि एमालेमा बस्ने वातावरण भएन, अब नयाँ यात्रामा निस्कनुपर्ने भयो भन्ने निष्कर्षमा पुग्नु भएको पाएँ’, रावलसँग कुरा गरेका एक नेताले भने ।

उनका अनुसार, रावलले नयाँ पार्टी बनाउने विकल्प प्राथमिकतामा राखेका छन् । त्यसका लागि आफ्नो कुरा सुन्ने नेता तथा कार्यकर्तासँग भेटवार्ता बढाएका छन् । भेट्नेहरुलाई रावलले परिषद् बैठकसम्म आइपुग्दा आफूले लगातार अपमानित हुनुपरेको बताउने गरेका छन् ।

‘पार्टी एकता जोगाउने भनेर लाग्दा सधैं धकेल्ने र अपमानित हुनुपर्ने भयो, परिषद्को बैठक जस्तो फोरममा कार्ड समेत नबनाइदिने भयो’, रावलले भन्ने गरेका छन् । पत्रकार सम्मेलनमा पनि रावलले यस्तै गुनासो गरेका थिए । ‘अछामकै जिल्ला अधिवेशनमा पनि मलाई नबोलाउने, तर कांग्रेस र माओवादीका नेताहरुले बोल्न पाउने व्यवहार सहेर आएँ’, रावलले भनेका थिए ।

उनी निकट नेताहरु पनि नयाँ पार्टी बनाउनेबाहेक अर्को विकल्प नरहेको बताउँछन् । ‘पार्टीले लगातार निषेध गरिरहने हो भने अब भीम रावलसँग पढेर बस्ने अथवा सक्रिय राजनीति गर्ने विकल्प छ’, रावल निकट एक नेता भन्छन् । यस्तो स्थितिले दोस्रो विकल्प रोज्नु बाध्यता हुने उनी बताउँछन् ।

निषेधको शृङ्खला

१० बुँदे सहमति गरेर पार्टीमा बसेपछि लगातार अध्यक्ष केपी शर्मा ओलीले आफूलाई निषेध गरिरहेको भीम रावलको निष्कर्ष छ । माधव नेपाल र झलनाथ खनालहरुले ९ भदौ २०७८ मा एमाले छोडेर एकीकृत समाजवादी गठन गर्दा रावल सहितका पदाधिकारीहरू १० बुँदे सहमति गरी एमालेमै बसेका थिए ।

तर १० बुँदे सहमति बमोजिम सुदूरपश्चिम प्रदेशको इन्चार्ज नपाएपछि रावल असन्तुष्ट बनेका थिए । उनी १० बुँदे बमोजिम सुदूरपश्चिम प्रदेशको इन्चार्ज हुने अडानमा रहे । त्यो विवाद समाधान भएन ।

बरू त्यसैवर्ष मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा रावलले अध्यक्ष पदमै उम्मेदवारी दिए । फराकिलो अन्तरले रावल ओलीसँग पराजित भए । ओलीले १,८३७ मत पाउँदा रावलले २२३ मत मात्र पाए । त्यो बेला रावलले पार्टी नेतृत्वकै निम्ति पाएको यो मत असाधारण थियो ।

एमालेको दशौं महाधिवेशनको कार्यक्रममा अध्यक्ष ओली र भीम रावल ।

किनकि भर्खरै विभाजित भएको एमालेभित्र ओलीसँग सिधा प्रश्न गर्ने सक्ने सामर्थ्य समेत कुनै नेतासँग थिएन । ‘भीम रावलले पाएको मत संख्यामा थोरै थियो, तर ओलीको विकल्प खोज्ने अर्थमा बुझ्दा यसको सन्देश ठूलो थियो’, एमालेका एक स्थायी कमिटी सदस्य भन्छन् ।

यसपछि ओलीले पनि रावलप्रति अनुदार व्यवहार गर्न थाले । त्यसमा रावलकै अडान पनि कारण बन्यो । किनकि रावलले पार्टीको प्रचलित प्रणाली बमोजिम केन्द्रीय सदस्यको शपथ लिएनन् । एमालेमा पदाधिकारीको उम्मेदवारले केन्द्रीय सदस्यमा पनि प्रतिस्पर्धा हुने गरेको छ । तर अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकाले केन्द्रीय कमिटीमा आउने अडान रावलले लिए ।

ओलीले केन्द्रीय सल्लाहकारमा रावललाई मनोनीत गरे । त्यो मनोनयन रावलले स्वीकारेनन् । महाधिवेशनको एक वर्षपछि आमनिर्वाचन भयो ।अछामबाट रावल निर्विरोध उम्मेदवार सिफारिस भए । तर रावललाई टिकट नदिएर ओलीले पूर्वमाओवादी झपट बोहरालाई टिकट दिए ।

टिकट नपाएपछि यसको असर सुदूरपश्चिमसहित देशभर परेको नेताहरु बताउँछन् । ‘सुदूरपश्चिममा भीम रावलले टिकट नपाउनुको असर पार्टीले आममानिस बुझ्नेगरी खेप्नुपर्‍यो’ ती स्थायी कमिटी सदस्य भन्छन्, ‘भीम रावलको व्यक्तित्वको असर देशभर भएकाले पार्टी मत प्रभावित भएको स्वीकार्नुपर्छ ।’ अखिलको राजनीति हुँदै केन्द्रीय उपाध्यक्ष, गृहमन्त्रीसम्म भएका रावलले गरिरहेको राष्ट्रवादको राजनीतिले देशभर प्रभाव रहेको उनी बताउँछन् ।

सम्भवतः यही स्वीकारोक्तिले पनि हुनुपर्छ, रावलसँग वार्ता गर्न पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको वार्ता समिति एमालेले गठन गर्‍यो । १८ चैत २०७९ मा बनेको उक्त समितिले केही पहलकदमी समेत लिएको थियो ।

‘हामी रहेको समितिले पार्टी अध्यक्ष र भीम रावलबीच कुरासम्म गराउन सक्थ्यो, त्यो कुरा भयो । त्यसपछि म आफैं अध्यक्षसँग भेट्छु, कुरा गर्छु भनेपछि हामीले गर्ने केही थिएन’, त्यो कार्यदलका सदस्य थापा भन्छन् ।

वार्ता समितिको पहलमा ओली र रावलबीच सम्वाद भएको थियो । तर ओलीले फोन गर्छु भनेर रोकिएको सम्वाद अगाडि नबढेको रावलको सार्वजनिक प्रष्टोक्ति छ ।

३० साउन २०८० मा एमाले पार्टी कार्यालय च्यासलमा ओली र रावलबीच भएको भेट ।

बरु उल्टै त्यसपछिका पार्टी गतिविधिमा समेत सामेल नगराइएको रावलले बताउँदै आएका छन् । २०७९ को फागुनदेखि चलेको दुई महिने सिमन ग्रासरुट र गत मंसिरको मध्यपहाडी संकल्प यात्रामा रावल सहभागी भएका थिएनन् ।

संकल्प यात्रामा अध्यक्ष ओलीले नेतृत्व गरेको टोली फर्किएपछि रावल सुदूरपश्चिम पुगेका थिए । जबकी अभियानका क्रममा अछाममै दुई वटा सभा भएका थिए ।

यसरी लगातार पार्टीको गतिविधिबाट अलग हुनुपरेका रावलले सार्वजनिक असन्तुष्टि जनाउँदै आएका थिए । गत ८–९ वैशाखमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछि भने रावल एमालेमा रहन नसकिने निष्कर्ष आफू निकटहरुलाई सुनाइरहेका छन् ।

तर एमालेका एउटा पंक्ति भने रावललाई रोक्न लागिपरेको एक नेता बताउँछन् । विशेषगरी सुदूरपश्चिमकै नेताहरु रावललाई एमालेमै भूमिका दिएर सक्रिय बनाउनुपर्ने पक्षमा छन् ।

‘भीम रावलले आवेशमा कुनै गलत निर्णय गर्नु हुन्न । अध्यक्षसँग कुरा छलफल गर्नुपर्छ र पार्टीमै सक्रिय हुनुपर्छ’, सुदूरपश्चिमकै नेता कर्ण थापा भन्छन्, ‘पार्टी अध्यक्षले पनि बोलाएर जिम्मेवारी दिनुपर्छ । पार्टी र भीम रावलका निम्ति यही नै उत्तम विकल्प हो ।’ तर रावलले चाहिँ पाँच दशकसम्म लगानी र संघर्ष गरेको पार्टीबाट अन्याय नरोकिएकाले अब अलग्गै पार्टी बनाउने तयारी गरिरहेका छन् ।

माधव नेपालसँग वार्ता

अलग पार्टी बनाउने गृहकार्यसँगै भीम रावलले एकीकृत समाजवादी प्रवेश गर्ने विकल्पमा पनि छलफल गरिरहेका छन् । त्यसका लागि अध्यक्ष माधव नेपालसँगै तीन पटक वार्ता भइसकेको एकीकृत समाजवादीका एक पदाधिकारीले बताए ।

‘तीन पटक कुराकानी भइसकेको छ । सँगै जाऔं भन्ने माधव कमरेडको प्रस्ताव हो’, ती पदाधिकारी भन्छन्, ‘भीम रावलले साथीहरुसँग सल्लाह गर्छु भन्नुभएको छ ।’

माधव नेपालसँग रावलको व्यक्तिगत सम्बन्ध असाध्यै राम्रो भएकाले पनि अरु नेताहरुसँग कुराकानी नभएको उनी बताउँछन् । ‘माधव नेपालसँगै कुरा हुन्छ भनेपछि हामीले थप कुरा गरेको छैन । तर उहाँ संकटमा हुनु भएकाले हामी सकारात्मक हुनुपर्छ’, ती पदाधिकारी भन्छन् ।

स्रोतका अनुसार, एमाले त्याग्दा रावलको प्राथमिकता माधव नेपालसँगै जाने हुनेछ । ‘कथंकदाचित माधव नेपालसँग कुरा नमिल्दा आफ्नै पार्टी बनाउने तयारी देखिन्छ’, ती स्रोत भन्छन् ।

रावल निकट एक नेता त झापाबाटै नयाँ पार्टीको घोषणा हुने बताउँछन् । ‘केपी ओलीकै गृह नगरबाट नयाँ पार्टीको घोषणा हुन्छ, सीके राउत र रेशम चौधरीले राष्ट्रिय शक्ति बनाउन सक्छन् भने भीम रावलको पार्टी नबन्ने कुरै हुँदैन’, ती नेता भन्छन् ।

Online Khabar

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button