गण्डकीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमाले–माओवादीको ह्वीप, राप्रपाको निर्णय आइतबार

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरेका छन् । विश्वासको मत लिनुभन्दा अघिल्लो दिन शनिबार बसेको ती पार्टीहरुको संसदीय दलको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेका हुन् ।

माओवादीले शुक्रबार नै ह्वीप जारी गरिएको र सांसद फणिन्द्र देवकोटा पोखराबाहिर भएकाले शनिबार जानकारी गराइएको प्रमुख सचेतक कुसुम बुढामगरले जानकारी दिइन् । ‘दलका सबै सदस्यलाई ह्वीप जारी भएको जानकारी गराइएको छ भने मन्त्रालयको टुंगो लगाउने जिम्मा दलका नेता हरिबहादुर चुमानलाई दिइएको छ’, उनले भनिन् ।

माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादीका नेता तथा गण्डकी प्रदेशसभा सदस्य  देवकोटाले आफू अलग्गै पार्टीको भएको बताउँदै आएका छन् । उनले पछिल्लो समय माओवादी संसदीय दलको बैठकमा सहभागितासमेत जनाएका छैनन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिलाउने निर्णय गरिएको बताए । ‘मुख्यमन्त्रीको प्रस्तावको पक्षमा मत हाल्न ह्वीप जारी गर्ने कुरा त भइ नै हाल्यो । उहाँको पक्षमा बहुमत पुर्‍याउने गृहकार्य पनि गर्ने भनेका छौं’, प्रमुख सचेतक नेपालीले भने, ‘मुख्यमन्त्रीज्यूले विश्वास जित्नुहुन्छ ।’

नेपाली कांग्रेसको शनिबार बिहानमात्र संसदीय दलको बैठक बोलाएको छ । राप्रपाले भने अहिलेको गठबन्धनलाई साथ नदिने तर विपक्षमा बस्ने कि तटस्थ बस्ने भन्नेबारे आइतबार बिहानमात्र केन्द्रबाट जानकारी आउने बताएको छ । ‘अहिलेको गठबन्धनलाई साथ नदिने निर्णय पहिल्यै भइसकेको छ’, राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले भने, ‘राप्रपा तटस्थ बस्ने सम्भावना छ ।’

एमाले–माओवादीले विश्वासको मत प्राप्त गर्ने बताइरहे पनि राप्रपाका कारण स्पष्ट बहुमत भने देखिएको छैन । एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)को समर्थनमा गत चैत २५ गते एमाले नेता अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखलाई पनि गणना गरेर नियुक्ति हुनु असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट सुनुवाइ गर्दै सर्वोच्च अदालतले अधिकारीलाई विश्वासको मत लिन पाउने फैसला सुनाएको थियो ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । तर सत्तारुढ दलहरुले भने सभामुख तटस्थ हुने भएकाले उनको गणना नगरी ५९ प्रदेशसभा सदस्यमध्येबाट बहुमत पुर्‍याए हुने दाबी गरिरहेका छन् । यस अनुसार ३० जनाको समर्थन भएमा मुख्यमन्त्रीले विश्वासको मत पाएको मानिने उनीहरुको जिकिर छ ।

Online Khabar

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button