विश्वकपअघि पर्याप्त तयारी, नतिजाको प्रतीक्षा

२२ वैशाख, काठमाडौं । तीन महिना अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त हुँदै नेपालले आईसीसी टी–२० विश्वकप २०२४ को तयारी पूरा गरेको छ ।

गत फागुनमा क्यानडासँग तीन खेलको ओडीआई सिरिजदेखि वेष्टइण्डिज ए सँग पाँच खेलको टी–२० सिरिजसम्मको अभ्यास र तयारीपछि नेपाल विश्वकप खेल्न जान तयार भएको छ ।

पछिल्लो दुई महिनामा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग त्रिक्रोणात्मक सिरिजका ५ खेल, आयरल्यान्ड ए सँग २ खेल, भारतमा फ्रेण्डसिप कपका ५ खेल, हङकङ त्रिकोणात्मक सिरिजमा ४ खेल, एसीसी प्रिमियर कपमा ६ खेल र वेष्टइण्डिज ए सँग ५ गरी कुल २७ टी–२० खेल खेलेको छ ।

कुनैपनि टोलीलाई खेलाडीको क्षमता हेर्न यो पर्याप्त खेल हो । यसअघि अन्तर्राष्ट्रिय खेलको अनुभव नेपाली टोलीको सबैभन्दा कमजोर पक्ष हुने गर्थ्यो । तर यस पटक त्यसमा कुनै कमी भएको छैन ।

वेष्टइण्डिज ए विरुद्धको सिरिज पछिल्लो तीन महिनामा नेपालले खेलेको सबैभन्दा उपल्लो स्तरको खेल थियो । नेपाल आएको वेष्टइण्डिज ए बाट विश्वकप खेल्ने टोलीमा जोनसन चार्ल्स, स्पिनर गुणाकेश मोती र रोस्टन चेश परेका छन् । सिनियर टोलीबाट खेलेका १२ खेलाडी नेपाल भ्रमणमा आएका थिए ।

तीन साताअघि ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा नेपाल उपाधिको दाबेदार थियो । तर सेमिफाइनलमा यूएईसँग ६ विकेटले हार्दै एसिया कप पुगेर भारत र पाकिस्तानसँग खेल्ने योजना अधुरै रहेको थियो । त्यसपछि तेस्रो स्थानको लागि भएको खेलमा पनि हङकङसँग हार्न पुग्यो ।

एसीसी प्रिमियर कपमा देखिएको खराब ब्याटिङ विश्वकप अघि नेपाललाई ठूलो चिन्ता विषय बनेको थियो । तर घरेलु मैदानमा बलियो मानिएको वेष्टइण्डिज ए विरुद्ध सिरिजबाट नेपालले राम्रो पूनरागमन र आशा देखायो ।

२०५ रनको विशाल लक्ष्य १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेर नेपालले सिरिजको पहिलो खेल जित्यो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेल्दै नेपाली क्रिकेट समर्थकमा आशा जगाए । रोहितले प्रिमियर कपमा यूएईविरुद्ध १८ बलमा ५ रन बनाउँदा भोग्नुपरेको आलोचना पनि यो शतकबाट कम गरेका थिए ।

रोहितले दोस्रो खेलमा ७१ र चौथो खेलमा ८२ रन बनाए । तेस्रो खेलमा उनले विश्राम लिए भने पाँचौं खेलको अन्तिम समयमा क्रिजमा पुगेपनि कुनै बल खेल्नुपरेन ।

पाँचौं खेलमा १७३ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १८.५ ओभरमा पूरा गरेको थियो । यो खेलमा अनिल साहले ५८ र आसिफ शेखले ५१ रन बनाउनु थप सकारात्मक पक्ष हो ।

वेष्टइण्डिज एसँगको सिरिजमा गरेको प्रदर्शनकै आधारमा कमलसिंह ऐरी विश्वकप टोलीमा अटाएका छन् । सागर ढकालले पनि उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली टोलीमा एक स्पिनर थप भए । तीव्र गतिका बलर अभिनाश बोहराले डेथ ओभरमा योर्करको लय समाउनु पनि यो सिरिजको सकारात्मक पक्ष रह्यो ।

तीव्र गतिका बलर सोमपाल कामी विश्वकपअघि भएको तयारीबाट सन्तुष्ट देखिए । उनले भने, ‘यो भन्दा राम्रो तयारी हुन सक्दैन । आयरल्यान्ड र वेष्टइण्डिजसँग खेल्न पायौं । एकदमै राम्रो भएको छ । मलाई आशा छ हामी विश्वकपमा राम्रो प्रदर्शन गर्ने छौं ।’

सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेल्ने टोलीका एक सदस्य सोमपाल यसपटक पनि विश्वकप खेलेर दुईवटा विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्दैछन् ।

उनका अनुसार नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुँदा उनी निकै उत्साहित भएका थिए । ‘यो मेरो लागि उत्कृष्ट क्षण हो’, सोमपालले भने ।

विश्वकपका लागि टोली निर्माण गर्नुअघि नेपालले खेलाडीलाई प्रशस्त अभ्यास र प्रदर्शन देखाउने अवसर दिएको थियो । ब्याकअप ओपनरमा अनिल साह, लोकेश बम र विनोद भण्डारीबीच प्रतिस्पर्धा भएको थियो । उनीहरुमध्येबाट अनिल चुनिए ।

तीव्र गतिका बलरमा आकाश चन्द र कमलसिंह ऐरीबीच प्रतिस्पर्धा भएको थियो । जसमा कमलले बाजी मारे ।

विश्वकप खेल हुने वेष्टइण्डिजको पिचलाई ख्याल गरेर नेपालले आरिफ शेख र विवेक यादवलाई छाडेर सागर ढकाललाई मौका दिएको छ । यसअघि टोली घोषणा गर्दा खेलाडीहरुबीच यसरी प्रतिस्पर्धा हुने थिएन । अझ सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकपका लागि टिम बनाउँदा खेलाडीबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट छनोट गरिएको थिएन ।

टी–२० विश्वकपमा नेपाल रहेको समूह डी मा श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स र दक्षिण अफ्रिका छन् ।

वेष्टइण्डिजविरुद्ध पहिलो र अन्तिम खेलको जितले टेस्ट मान्यता प्राप्त टोलीलाई पनि हराउन सकिन्छ भन्ने मानसिकता नेपाली टोलीमा देखिएको छ । ओमानमा प्रिमियर कपमा गरेको कमजोर प्रदर्शनको पीडा बिर्सेर उच्च मनोबलका साथ नेपाली क्रिकेटर विश्वकप खेल्न जाँदैछन् ।

यो तयारीपछि विश्वकप खेल्न गएको नेपाली टोलीबाट समर्थक र शुभचिन्तक शानदार प्रदर्शनको अपेक्षा गर्नेछन् । तीन टेष्ट टोली र एसोसिएटको शीर्ष टोलीविरुद्ध विश्वकपमा नेपाली टोलीको प्रदर्शन भने प्रतीक्षाकै विषय बनेको छ ।

Online Khabar

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button